यो मन त मेरो नेपाली हो


निर्माता ढुङ्गानाको जन्मदिनमा ‘अक्षरा’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी भदौ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘अक्षरा’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सोमबार यस फिल्मका निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसरमा पारेर फिल्मको को दोस्रो पोष्टर रिलिज गरिएको हो। साथै, प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तीव्र पार्ने उद्देश्यले पनि नयाँ पोस्टर रिलिज गरिएको निर्माणपक्षको भनाई छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमि र दुवै कलाकारको गम्भीर भावले चलचित्र सामाजिक वा पारिवारिक कथावस्तुमा आधारित रहेको सङ्केत गर्छ। 

पोस्टरमा दुवै कलाकार विपरीत दिशातिर फर्केर हेरिरहेका छन्, जसले उनीहरू प्रेमी-प्रेमिका हुनसक्ने अनुमान लगाउन सकिन्छ। उनीहरूको अनुहारको भावले सम्बन्धमा आएको खटपट, रिस, वैचारिक दूरी, असमझदारी वा परिस्थितिले सिर्जना गरेको बाध्यता र बिछोडको मर्मलाई दुरुस्तै व्यक्त गरेको छ। पोस्टरको पृष्ठभूमिमा धमिलो रूपमा देखिएको मानिसहरूको भीडभाडले यी पात्रहरूको व्यक्तिगत जीवन र सम्बन्धमा समाजको दबाब वा भूमिका रहेको बुझाउँछ।


क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। त्यस्तै, बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।


सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको चलचित्रलाई विनय राज पौडेलले निर्देशन गरेका हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।


चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखनमा तयार भएको हो। दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्। चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा रिलिज हुनेछ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add