यो मन त मेरो नेपाली हो


‘सबै जेनजी एउटै ठाउँमा अटाउनु राम्रो हुन्छ’ मुस्कान खातुन

काठमाडौँ । अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड प्राप्त गर्ने सामाजिक अभियन्ता मुस्कान खातुन मंसिर ११ गते नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरिन् । राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता समारोहमा खातुनलाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले प्रवेश गराएका थिए । जेनजीको अगुवा समेत रहेकी उनलाई नेकपाले केन्द्रीय समिति सदस्य बनाउने घोषणा गरेको छ ।


१५ वर्षको कलिलो उमेरमा तेजाब आक्रमणबाट गम्भीर घाइते भएकी खातुनले उपचारसँगै हिम्मत नहारी समाजमा हुने गरेका सबै प्रकारका हिंसा विरुद्ध अभियान चलाएकी थिइन् । उनको यही साहसको कदर गर्दै अमेरिकी सरकारले २०७७ सालमा पुरस्कार दिएको थियो । नेपालबाट यो पुरस्कार पाउने खातुन कान्छीमध्ये एक र पहिलो महिला समेत हुन् । 

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २, छपकैयाकी स्थायी बासिन्दा खातुन अहिले कानुन संकायमा स्नातक अध्ययनरत् छिन् । मानव अधिकारकर्मी समेत रहेकी उनले अध्ययनसँगै सामाजिक अभियानलाई जारी राखेकी छन् । भर्खर २१ वर्षमा प्रवेश गरेकी खातुनसँग रातोपाटीले जेनजी आन्दोलन, सामाजिक अभियानका साथै राजनीतिमा सक्रिय हुनुको कारणबारे कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश : 


सरकार र जेनजीबिच भएको १० बुँदे सम्झौतालाई कसरी लिनुभएको छ ?

 

यो एकदमै राम्रो कुरा हो । परिवर्तनलाई संस्थागत गरेर जानुपर्छ भनेर बुझेर नै सम्झौता भयो जस्तो लाग्छ । जेनजीलाई पनि हामीले अगाडि बढाउनुपर्छ । जेनजीका मागहरू, चाहनाहरू पूरा गर्नुपर्छ । अनेरास्ववियु (क्रान्तिकारी)ले पनि उनीहरूको भावनालाई आत्मसात गरी जेनजी महोत्सव आयोजना गर्नुभएको छ । हामी सबैले साथ दिएर अभियानलाई सफल बनाउने छौँ भन्ने मलाई पूर्ण विश्वास छ ।


भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ गते जेनजीले स्वतःस्फूर्त रुपमा गरेको आन्दोलनमा सरकारले निर्मम दमन गर्दा २१ जना युवाले ज्यान गुमाए । भोलिपल्ट विध्वंश मच्चियो, त्यसमा घुसपैठ भयो भन्ने पनि छ । जेनजीबाटै सम्झौता पत्र च्यात्ने काम भयो । यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ? 

 

भ्रष्टाचार र बेथितिविरुद्ध बोल्न जरुरी छ, हामीले आवाज उठाउन जरुरी छ । विकास गर्नुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने योजनासहित जेनजीले आवाज उठाउनु राम्रो थियो । त्यो आवाज शान्तिपूर्ण भएमा एउटा सफल र बलियो रुपमा अगाडि बढ्छ जस्तो मलाई लाग्छ । तर भोलिपल्ट सिंहदरबारदेखि लिएर सम्पूर्ण सरकारी भवन जुन जल्यो, त्यो वास्तवमा एकदमै दुःखद् कुरा हो । किनकि त्यो विध्वंशले देशको विकास १० वर्ष पछाडि धकेलिएको जस्तो महसुस भएको छ । सिंहदरबार एउटा हाम्रो इतिहास हो । त्यो जलाउनु भनेको दुःखद् हो । शान्तिपूर्ण रुपमा आवाजलाई बुलन्द रूपमा अगाडि बढाएको भए सायद हामीले एउटा असल परिवर्तन गर्न सकिन्थ्यो होला । तर जे नहुनु थियो भइसक्यो त्यसलाई सम्झेर पनि भएन । कतिपय जेनजीहरूले पनि बुझेका छन् कि शान्तिपूर्ण रुपमै बोलेर, आवाज उठाएर देशका लागि केही गर्नुपर्छ भनेर लाग्नुभएको छ । शान्तिपूर्ण आवाज राम्रो होस् भन्न चाहन्छु । 


जेनजी मुभमेन्ट असल नियतका साथ भएको थियो । तर त्यसलाई विषयान्तर गर्न वा आन्दोलनलाई कमजोर बनाउन कसैले घुसपैठ गरेजस्तो तपाईंलाई लाग्दैन ? 


सम्पूर्ण जेनजीले चाहेको र म आफैँ एउटा जेनजीकै उमेर भएका कारणले गर्दा हामी सम्पूर्ण जेनजीको एउटै उद्देश्य देश विकास होस्, भ्रष्टाचार अन्त्य होस्, विभिन्न प्रकारका हिंसाहरूको अन्त्य होस् भन्ने नै हो । त्यही भनेर नै आन्दोलनमा लागेका हौँ । 


तर अहिले जेनजीहरू विभिन्न समूहमा छुट्टिनुभएको छ । सम्पूर्ण जेनजीले यो बुझ्न जरुरी छ कि हामी एकताबद्ध हुनुपर्छ । एउटै लक्ष्य र उद्देश्य बनाएर काम गरियो भने अवश्य नै राम्रो हुन्छ । तर यसरी विभाजित भएर गयो भने हामी गन्तव्यमा पुग्दैनौँ । त्यसैले सर्वप्रथम जेनजी नै पहिला एक हुनुपर्छजस्तो मलाई लाग्छ । 


तपाईंलाई जेनजी आन्दोलन अहिले दलीय छायामा पर्न थालेको हो कि जस्तो लाग्दैन ?


अवश्य नै लाग्छ । शान्तिपूर्ण आन्दोलन गर्ने भनेर धेरै जेनजी युवा सडकमा उत्रेका थिए । ठुलो संख्यामा उपस्थित भएर शान्तिपूर्ण आन्दोलन गरेका थिए । उनीहरुको आवाज बुलन्द रुपमा अगाडि बढिरहेको थियो । तर अहिले जेनजीलाई विभिन्न पार्टीले समेट्दै छन् । यताउति छरिनुभएको छ । 


सम्पूर्ण जेनजीले यो बुझ्न जरुरी छ कि वास्तवमा हाम्रो आवाज सुन्ने कसले ? यी सबै बुझेर एक ठाउँमा लाग्न जरुरी छ । कुन व्यक्ति असल छन् ? वास्तवमा समाजमा कसले बढी दायित्व बहन गरेका छन् । त्यसको इतिहास पढेर वा बुझेर एकै ठाउँमा आउनुभयो भने त्यसले राम्रो परिणम ल्याउँछ । नत्र विभिन्न ठाउँमा जेनजीहरू छरिने, विभिन्न पार्टीमा लाग्नुभयो भने साझा उद्देश्य प्राप्त गर्न गाह्रो होला । सम्पूर्ण जेनजी एक भएर अगाडि बढ्न जरूरी छ । यसले देशका लागि हामीले केही गर्नुपर्ने वातावरण पनि राम्रो हुन्छ । जब हामी सँगै हिँड्छौँ, हाम्रो योजना पनि एउटै हुन्छ । सँगै नहिँडेपछि हाम्रा योजनाहरू पनि फरक–फरक हुँदै जान्छन् । 


तपाईंले सबै जेनजीलाई एकताबद्ध भएर जान आग्रह गरिरहँदा अहिले जेनजी समूहबिच नै फाटो आइरहेको छ । एकले अर्कोको अस्तित्व स्वीकारेको अवस्था छैन । कतै जेनजीको बलिदानी खेर जाने हो कि जस्तो लागेको छैन ?

 

जेनजी आन्दोलनमा सहिद भएका दाजु, दिदी, भाइबहिनीहरूलाई सम्झँदा दुःख लाग्छ । बाल्यकालमै, पढ्ने उमेरमा ज्यान गुमाउनु परेको छ । उहाँहरूले अझ कति जीवन देख्न बाँकी थियो, कति यात्रा गर्न बाँकी थियो । तर सानै उमेरमा ज्यान गुमाउँदा दु:ख लागेर आउँछ । त्यस्तो नगरेको भए हुन्थ्यो । 

 

एउटा कमलको फूल फुल्ने ठाउँमा नै मरेको अवस्था देख्दा मलाई एकदमै दुःख लागेको छ । जति जनाले देशका लागि ज्यान दिनुभयो, उहाँहरूको सपना हामीले पूरा गर्नुपर्छ भनेर बुझ्न जरुरी छ । हामीले त्यो दायित्व पूरा गर्न सँगै हिँड्न जरुरी छ । त्यो दिन हामीले बिर्सिन हुँदैन । 


जेनजी आन्दोलनमा लागेकाहरू विभिन्न समूहमा छरिएका छन् । धेरै पार्टी खुलेका छन् । धेरै ठाउँमा विभाजित भएर होइन, एक ठाउँमा आउन म आग्रह गर्छु । एउटा ठाउँमा १० जना उभिनु र एउटा ठाउँमा हजार जना उभिनु फरक छ । सबैभन्दा पहिला हामी आफैँले पनि बुझेर असल व्यक्तिलाई चुनेर पठायौँ भने राम्रो हुन्छ । उहाँहरूलाई झकझकाउने बाटो पनि हुन्छ । 


म आफैँ पनि नेपाली कम्युनिस्ट पार्टीबाट जुटेको छु । हाम्रो संयोजक पुष्पकमल दाहालज्यूसँग भेट्दा, कुरा बुझ्दै जाँदा जेनजी आन्दोलनपछि उहाँहरूको विचार धेरै परिवर्तन भएको पाउँछु । हामीले युवालाई अगाडि बढाउनुपर्छ । अभिभावक हामी बनेर युवाहरूलाई  सहजीकरण गर्दिनुपर्छ जस्ता कुरा परिवर्तन आएको छ । 


पाँच वर्षअघि तपाईंमाथि जुन खालको तेजाब आक्रमण भयो । तर अलिकति पनि विचलित नभएर समाजमा देखिएका विभेद र महिला हिंसा विरुद्धको अभियानमा अनवरत रुपमा लाग्नुभयो । अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त पनि गर्नुभयो । तर अहिले आएर नेपाली कम्युनिस्ट पार्टी नै किन रोज्नुभयो ?


सर्वप्रथम म आफैँ तेजाब आक्रमणमा परेँ । त्यतिबेला मैले न्याय पाउनुपर्छ भन्ने लाग्थ्यो । मैले एउटा देशबाट चाहेको न्याय मात्रै थियो । तर त्यो न्यायका लागि पनि मैले धेरै पटक बोल्नुपर्‍यो, आवाज उठाउनुपर्‍यो । सजिलो रुपमा मैले न्याय पाउन सकिनँ । पाँच वर्षसम्म मैले अन्यायविरुद्ध, तेजाब आक्रमणको विरुद्ध लडेँ, बोलेँ, आवाज उठाएँ । र, कानुन परिवर्तन गर्न पनि सफल भएँ । वास्तवमा मैले यो फिल्डमा काम गरिराख्दा के महसुस भयो भने एउटा तेजाब आक्रमण मात्रै जघन्य अपराध होइन, हिंसा होइन । 


आज पनि हामीले गाउँघरमा गएर हेरौँ, मधेस प्रदेशमा गएर हेरौँ भने कति धेरै दिदीबहिनी आफ्नो ज्यान गुमाउनुपरेको अवस्था देखिरहेको छु । गल्ती नै नभइकन पनि ज्यान गुमाउनुपर्ने अवस्था हामीले देखिरहेका छौँ । तर त्यो बाहिर आउन सकेको छैन । म आफैँ पनि पीडामा परेको व्यक्ति भएकाले, ती पीडा महसुस गर्न सक्छु । सबै पीडा एकै हुन् जस्तो मलाई लाग्छ । सम्पूर्ण प्रकारका हिंसा विरुद्ध कडा कानुन आउनुपर्छ । सम्पूर्ण दिदीबहिनीले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ । समाजमा सबैलाई बाँच्ने अधिकार छ । 


यी अभियानमा जोडिँदा मैले पाँच वर्षसम्म धेरै काम गरेँ । कतिपय कुरामा मलाई नेपाल सरकारको सपोर्ट चाहिएको थियो । विभिन्न दाजु, दिदी, भाइबहिनीका सपोर्ट चाहेका थियौं । जेनजी आन्दोलनपछि म नेपाली कम्युनिस्ट पार्टीमा जोडिनुको उद्देश्य के हो भने मैले विभिन्न पार्टीको अध्ययन गरेँ । मेरो बाबा पनि धेरै पहिलेबाट नै राजनीतिक विषयमा अध्ययन गर्नुभएको व्यक्ति हो । समाजवादी पार्टीमा नै हामी लाग्नुपर्छ भन्ने निष्कर्षका साथ यो पार्टीमा प्रवेश गरेँ । 


आफ्ना लागि सोच्ने व्यक्ति त धेरै छन्, तर समाजका लागि सोच्नुपर्छ भन्ने थोरै मात्रै व्यक्ति हामीले देखिरहेका छौँ । अरुको लागि मैले बाँचेर केही गर्नुपर्छ भनेर सोच्ने व्यक्ति धेरै कम छन् । आफ्नो लागि बनाउँछु, आफ्नो लागि गर्छु भन्ने धेरै व्यक्ति देखिन्छन् समाजमा । जन्मिसकेपछि हामीले अर्काका लागि सोच्नुपर्छ । हामीले आधा पेट खाए अरुलाई पेटभरि खान दिनुपर्छ भन्ने सोच्ने एउटा ठुलो विचार हो । ठुलो परिवर्तन हो जस्तो लाग्छ । मैले सोच्ने गरेको, मैले गर्ने गरेको काम र नेपाली कम्युनिस्ट पार्टीबाट गरेको काम मिल्दाजुल्दा छन् । त्यसै कारणले म यो पार्टीमा जुटेको हो । 


देशमा गणतन्त्र, लोकतन्त्र ल्याउन, सम्पूर्ण जातजाति एउटै हो भनेर पुष्पकमल दाहाल प्रचण्डज्यूले धेरै संघर्ष गर्नुभएको छ । उहाँ पनि जेनजीकै उमेरबाट लड्नुभएको हो । सम्पूर्ण जातजाति बराबर हो, मुस्लिम, दलित तल्लो जातदेखि लिएर माथिल्लो जात समान हुन् भनेर उहाँले धेरै संघर्ष गर्नुभयो । म आफ्नै जीवनमा घटना घटिसकेपछि न्यायका लागि धेरै आवाज उठाएँ । अब म जस्ता बालबालिकाले यस्तो पीडा नभोगुन् भनेर नै आवाज उठाएको हो । 

 


त्यसैले मेरो अभियान र उहाँहरूले गर्नुभएका काम मिल्दोजुल्दो भएर नै म यो पार्टीमा लागेको हो । मलाई एमबीबीएस पढ्ने रहर थियो । तर मेरो अभियान समाजमा रहेका भायलेन्स अन्त्य गर्नुपर्छ भन्ने थियो । त्यसैले एमबीबीएसको रहर त्यागेर कानुन पढ्न थालेको हुँ । कानुनी दायित्वमा बसेर मैले काम गर्नुपर्छ भनेर आफ्नो फ्याकल्टी चेन्ज गरेँ । 


नेपाली कम्युनिस्ट पार्टीलाई नै साथ दिएर सकेसम्म आफ्नो देशका लागि, आफ्नो समाजका लागि, घरपरिवारका लागि एउटा राम्रो काम गर्छु भनेर लागेको छु । सबैको साथ सपोर्ट भयो भने अवश्य नै हामीले चाहेको, हामीले सोचेको पनि गर्न सक्छौँ । किनकि हिम्मत हार्नु हुँदैन, हिम्मत हार्‍यो भने त्यो मान्छे सकिहाल्यो नि । हिम्मत नहारी अगाडि बढ्दा धेरै प्रब्लम फेस गर्न सकिन्छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add