काठमाडौँ । नेपाली बक्सअफिस पछिल्लो समय उकालो लागेको छ । व्यवसाय गर्ने फिल्मको संख्या बढेसँगै फिल्म निर्माणको संख्या पनि ह्वात्तै बढेको छ । निर्माण बढेसँगै प्रदर्शनमा आउने फिल्मको संख्या पनि बढ्न थालेको छ ।
अघिल्लो वर्षसम्म पुस महिनामा फिल्म प्रदर्शन गर्न निर्माता डराउने गर्दथे । जाडोको महिना, दिन छोटो हुने र दर्शक फिल्म हलसम्म आउन हिचकिचाउने कारणले गर्दा पुसलाई फिल्म व्यवसायका लागि प्रतिकूल महिना मानिन्थ्यो । त्यसैले विगतका वर्षमा यो महिना मुस्किलले २ वटा फिल्म प्रदर्शनमा आउँथे ।
गत वर्ष पुसमा ‘बमबहादुर’ र ‘कासाङ’ प्रदर्शनमा आएको थियो । यो वर्ष पुसको क्यालेन्डरमा विगतभन्दा दोब्बर अर्थात् ४ नेपाली फिल्म प्रदर्शनमा उत्रिन लागेका छन् ।
चाडपर्व बाहेक नेपाली फिल्म शुक्रबार रिलिज गर्ने परम्परा छ । पुसमा रहेका ४ शुक्रबारमध्ये तीन शुक्रबार फिल्म रिलिजमा छन् । पुसको पहिलो साता अर्थात् ४ गते शुक्रबार कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आउँदैछ । त्यसपछि दोस्रो साता, पुस १० गते बक्सअफिसमा दुई फरक स्वादका फिल्म ‘मुगलान’ र ‘द ब्लू लाइट’ एकैसाथ भिड्दैछन् ।
Shivam Cement
त्यस्तै पुस १७ मा फिल्म ‘एक्लो’ प्रदर्शनमा आउने तयारीमा छ । अहिलेसम्म पुसको चौथो शुक्रबार कुनै फिल्म प्रदर्शनमा आउने घोषणा भएको छैन, तर तीन साताको प्रतिस्पर्धा भने रोचक देखिन्छ । सर्सर्ती हेर्दा यो महिना पारिवारिक ड्रामा, सामाजिक संघर्ष, मनोवैज्ञानिक थ्रिलरदेखि साइन्स फिक्सनजस्ता कथाका फिल्म रिलिज हुनेछन् ।
Nabil bank
एक्लै ‘झरीपछिको इन्द्रेणी’
पुस ४ गते कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा डेब्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आउँदैछ । फिल्मले विदेशको सपना, पारिवारिक प्रेम र सामाजिक संघर्षको कथा भन्छ । जेनजी आन्दोलनका विषय पनि फिल्ममा छन् ।
फिल्म समाजको वास्तविक कथामा बनेको निर्देशक घिमिरेको दाबी छ । ‘फिल्मको कथा समाजबाट लिइएको हो । त्यसैले कथा सबैको जीवनसँग मेल खान सक्छ’, घिमिरेले भने, ‘झरी (संकट वा दुःख)पछि आउने इन्द्रेणी (खुसी)को प्रतीकात्मक अर्थलाई फिल्मले गहिरोसँग बुझाउने प्रयास गरेको छ ।’
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । नागराज इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको निर्माता अनिसा सेन्दाङ लिम्बु छिन् । यसै फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि अभिनयमा फर्किएका छन् ।
‘मुगलान’ भर्सेज ‘द ब्लू लाइट’
मध्य पुस अर्थात् पुस १० मा दुई फरक फिल्म ‘मुगलान’ र ‘द ब्लू लाइट’ एकैसाथ भिड्दैछन् । ‘मुगलान’ ग्रामीण कथामा बनेको हो भने ‘द ब्लू लाइट’ मनोवैज्ञानिक थ्रिलर फिल्म हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले नेपाली समाजको ग्रामीण जीवनशैली र त्यहाँको संघर्षलाई पस्किनेछ ।
फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन मगर (ख.ब.पु.), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतको अभिनय छ । गोमन सिंह निर्माता रहेको फिल्ममा रिता चौधरी सह–निर्माता हुन् । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।
त्यस्तै, ‘द ब्लू लाइट’ साइकोलोजिकल थ्रिलर फिल्म हो । फिल्ममा महेश त्रिपाठी, अर्पण थापा, आयुशमान देशराज जोशी, बेनिशा हमाल र सृष्टि श्रेष्ठलगायतको अभिनय छ ।
बलिराम चौहानको निर्देशन रहेको फिल्म स्काइफल पिक्चर्सको ब्यानरमा बनेको हो । फिल्मले दर्शकलाई भावनात्मक र मानसिक रूपमा चुनौती दिने निर्देशक चौहान बताउँछन् ।
अन्तिममा ‘एक्लो’
‘एक्लो’ नेपालमा बनेको पहिलो साइन्स फिक्शन फिल्म हो । फिल्मको कथा सन् २०३० मा खतरनाक भाइरसका कारण पृथ्वी ग्रह छाड्नुपर्ने अवस्थामा पुगेका मानव जातिको भविष्यको काल्पनिक चित्रण हो ।
फिल्मको प्रमुख आकर्षण विदेशी कलाकार जेमी बेकन हुन्, जसले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गरेका छन् । नेपाली कलाकार कविता नेपालीले पनि बेकनको अन्तरिक्ष साझेदारको भूमिकामा अभिनय गरेकी छन्, जसले यो फिल्मबाट डेब्यू गरेकी छन् ।
फिल्मको छायाङ्कन काभ्रेको पनौती र मुस्ताङमा भएको छ । फिल्ममा प्रदीप खड्का, विजय लामा, कविता नेपाली, सुनिल थापा, दिया पुनलगायको अभिनय छ । फिल्मले प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा मार्केट स्टल राखेको थियो ।








0 comments:
Post a Comment