यो मन त मेरो नेपाली हो


लागु पदार्थ प्रयोग गर्ने ९० प्रतिशतमा हेपाटाइटिस सी

हेपाटाइटिस विश्वमा जनस्वास्थ्य समस्याका रूपमा देखा पर्दै गएको छ ।कलेजो ट्रान्सप्लान्ट सर्जन डा.सञ्जयकुमार यादवका अनुसार हेपाटाइटिस कलेजोको एक गम्भीर रोग हो । यो विभिन्न भाइरसको सङ्क्रमणको कारणले लाग्ने गर्छ । विश्वमा भाइरल हेपाटाइटिसको मृत्युदर बढ्दो छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार भाइरल हेपाटाइटिसका कारणले सन् २०१९ मा ११ लाखको मृत्यु भएको थियो भने यो सङ्ख्या बढेर सन् २०२२ मा १३ लाख पुगेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दिन छ हजार व्यक्ति भाइरल हेपाटाइटिसको सङ्क्रमण हुने गर्छन् ।

नेपालमा यकिन तथ्याङ्क नभए पनि जनसङ्ख्याको एक प्रतिशतमा हेपाटाइटिस बी भएको अनुमान गरिएको छ । लागु पदार्थ प्रयोग गर्ने ९० प्रतिशतमा हेपाटाइटिस सी हुने विभिन्न अध्ययनले देखाएको छ ।

हेपाटाइटिस भनेको के हो ?

हेपाटाइटिस भनेको कलेजो सुन्निने अवस्था हो । हेपाटाइटिसले कलेजोलाई असर गर्ने गर्छ । हेपाटाइटिस पाँच प्रकारका भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ई को कारणले हुने गर्छ ।

हेपाटाइटिस जुनसुकै उमेरका मानिसलाई हुने भए पनि अत्याधिक मदिरा सेवन, लागु औषध प्रयोगकर्ता, एचआइभी, सङ्क्रमित व्यक्ति केही औषधीहरू वा अन्य स्वास्थ्य समस्याको कारणले यो रोग लाग्न जोखिम बढ्ने डा.यादव बताउनुहुन्छ ।


चिकित्सकका अनुसार हेपाटाइटिस ए र ई अति सङ्क्रामक हुने गर्छ । हेपाटाइटिस बी र सी सङ्क्रमणले कलेजाको दीर्घ रोग सिरोसिस र क्यान्सरको जोखिम निम्त्याउने डा.यादवको भनाइ छ ।


यी भाइरसले कलेजो सुनिएर दीर्घकालीन क्षति पुर्‍याउनुका साथै सिरोसिस, कलेजोको क्यान्सरका कारण बिरामीको मृत्यु समेत हुने उहाँ बताउनुहुन्छ।


यो रोग कसरी सर्छ ?


डा.यादवका अनुसार हेपाटाइटिस ए दुषित पानी र खानाबाट सर्छ । हेपाटाइटिस बी शरीरबाट निस्किएको तरल पदार्थ जस्तै रगत, वीर्य आदिको माध्यमबाट सर्छ ।


यो भाइरस प्रसूतिको समयमा सङ्क्रमित आमाबाट बच्चालाई सर्न सक्छ । यो भाइरस लामो समयसम्म रही कलेजोको क्यान्सर गराउन सक्छ । हेपाटाइटिस सी रगतबाट सर्छ । ९० लागु औषध प्रयोगकर्तालाई हेपाटाइटिस सी हुने सम्भावना हुन्छ । “यो रोग असुरक्षित सुईको प्रयोग गर्दा वा सङ्क्रमितको रगतको माध्यमबाट सर्ने गर्छ । यसको सङ्क्रमण लामो समयसम्म रही कलेजोको क्यान्सर गराउन सक्छ”, डा.यादव भन्नुहुन्छ ।


समयमै पहिचान गरेर उपचार गरेमा यो रोगलाई निको हुन्छ । हेपाटाइटिस डी भाइरसले हेपाटाइटिस बी को सङ्क्रमण भएका व्यक्तिलाई बढी असर गर्ने डा.यादवको भनाइ छ ।


समयमा नै रोग पहिचान गरेर उपचार नगराएमा हेपाटाइटिस डीले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस ई दुषित पानीको माध्यमबाट सर्छ । सामान्यतया रोग गम्भीर हुँदैन तर गर्भवतीमा जटिलता समस्या निम्तने गर्छ ।


लक्षण


आँखाको सेतो भाग र छाला पहेँलो भएर जान्छ । अत्यधिक थकान बढ्नु, पखाला लाग्नु, बान्ता हुनु र पेट दुख्ने समस्या बढ्नु यसका लक्षण हुन्।


त्यसबाहेक पिसाब पहेँलो हुनु, खान मन नलाग्नु, जोर्नी तथा मांसपेसी दुख्नु, ज्वरो आउनु यसका अन्य लक्षण हुन् । गम्भीर समस्या भएमा पेटमा पानी जम्ने, पेट फुल्ने, शरीर सुक्ने र पेट फुल्ने जस्ता लक्षण देखिने गर्छ । हेपाटाइटिसले निम्त्याउन सक्ने जटिलता हेपाटाइटिस बी र सी को समयमा पहिचार र रोकथाम नगरेसिरोसिस (कलेजो काम गर्न छोड्ने), र क्यान्सर भएर मृत्यु समेत हुने गर्छ ।


डा. यादवले भाइरल हेपाटाइटिस भएको धेरैले थाहा नपाउने बताउनुहुन्छ । समयमै परीक्षण गरेर उपचार गरेमा यो रोग निको हुने उहाँ बताउनुहुन्छ ।


बच्ने उपाय


यो रोग लाग्नबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ । हात साबुन र पानीले मिचिमिचि धुने, पानी शुुद्धीकरण गरेरमात्र पिउने, पकाएको र ताजा खाना खाने, अरुले प्रयोग गरिसकेका सुई, ब्लेड, ब्रस प्रयोग नगर्न चिकित्सककाे सुझव छ । असुरक्षित यौन सम्पर्क नगर्ने, हेपाटाइटिस विरुद्धको खोप लगाउनुसमेत यसबाट बच्ने उपाय हुन् ।


चिकित्सकका अनुसार जन्मिने बितिकै खोप लगाएमा बालबालिकालाई भविष्यमा हुन सक्ने कलेजोको क्यान्सर हुनबाट जोगाउन सकिन्छ । डा.यादवका अनुसार हेपाटाइटिसको रोगको प्रकृति हेरेर उपचार गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म हेपाटाइटिसलाई विश्वबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add