काठमाडौं । अभिनेता बिराज भट्टको एग्रेशिभ लुक्ससहित नेपाली चलचित्र ‘१२ गाउँ २’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा बिराज भट्टलाई एक्सन मोडमा प्रस्तुत गरिएको छ।
पोस्टर सार्वजनिक भएसँगै चलचित्रको टिजर पनि छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ।
सार्वजनिक पोस्टरका विषयमा अभिनेता बिराज भट्टसँग प्रश्न गर्दा उनले चलचित्र भित्रकै एउटा सिक्वेन्सको फोटो पोस्टरमा प्रस्तुत गरिएको बताए।
उनले भने, “हामीले चलचित्र भित्रकै एउटा सिक्वेन्सको फोटोलाई पोस्टरमा प्रस्तुत गरेका हौँ। यो दृश्य चलचित्रभित्र दर्शकले हेर्न पाउनुहुनेछ।”
उनले केही दिनमै टिजर सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिँदै भने, “अब हामी केही दिनमा नै टिजर सार्वजनिक गर्छौँ। हाम्रो अघिल्लो पोस्टर र ‘जुनेली’ गीतलाई दर्शकले दिनुभएको मायाप्रति सधैँ आभारी छौँ। चलचित्र ‘१२ गाउँ २’ लाई पनि माया गरिदिनुहोस्। जय नेपाली सिनेमा।”
यही असोज ३० गते फूलपातीको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा सरस्वती भट्टले निर्माण गरेकी हुन्। बिराज भट्टको निर्देशन तथा अभिनयमा तयार भएको यस चलचित्रमा समीर भट्ट, कृशु शाही (काफिया), अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रज्वल दुलाल, कमल देवकोटा, साहिल सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर. शाह, पूर्णबहादुर गन्धर्व र सुधीर श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ।
यसै चलचित्रमार्फत कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली चलचित्र नगरीमा पाइला टेक्दैछन्।
सन्तोष सरकारको कथामा निर्माण भएको यस चलचित्रमा महेश पौडेलको डीपी (छायांकन), काला चरणको ब्याकग्राउन्ड म्युजिक, यम गुत्ता गुरप्पाको साउन्ड डिजाइन तथा बन्दे प्रसाद र जिजेन्द्र जी (साउथ) को सम्पादन रहेको छ।
स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन कोरियोग्राफी रहेको चलचित्रको सम्पूर्ण प्राविधिक काम सम्पन्न भइसकेको र अब प्रचार–प्रसारमा जुटेको निर्माण प्रमुख भोला सुवेदी (आरजे प्रणव) ले बताए।
उनले भने, “केही दिनमा टिजर सार्वजनिक गर्नेछौँ। अहिले त्यसैको प्राविधिक पाटोको काम भइरहेको छ।”
आगामी असोज ३० गते (अक्टोबर १६), अर्थात् दशैंको फूलपातीको अवसर पारेर देशव्यापी रूपमा सिनेमाघरमा प्रदर्शनमा आउने यस चलचित्रलाई काफिया फिल्म्स र कुबेर सिनेमाले वितरण गर्नेछन्।








0 comments:
Post a Comment