भोला सुबेदी (प्रणव)
काठमाडौं ।
प्रसिद्ध भारतीय नाटककार हबीब तनवीरद्वारा लिखित ऐतिहासिक नाटक ‘चरणदास चोर’ को मञ्चन मण्डला थिएटरमा भइरहेको छ । नाटकको मञ्चन ११ चैतसम्म रहने जनाइएको छ । सामाजिक व्यङ्ग्य, लोकशैली तथा नैतिक प्रश्नहरूको गहिरो प्रस्तुति रहेको यस नाटकले दक्षिण एसियाली रङ्गमञ्चमा विशिष्ट पहिचान बनाएको छ । नेपालमा यस कृतिलाई मण्डला थिएटरले विभिन्न चरणमा मञ्चन गर्दै आएको छ ।
नाटकको नेपाली संस्करण आशान्त शर्मा तथा राजन खतिवडाले अनुवाद गरेका हुन् । प्रारम्भिक निर्देशन खतिवडाले गरेका थिए भने त्यसपछि विकास जोशीले नयाँ दृष्टिकोणसहित नाटकलाई प्रस्तुत गरेका थिए । हाल मिलन कार्कीको निर्देशनमा मञ्चन भइरहेको यस नाटकले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
लोकशैली र हास्यव्यङ्ग्यको प्रयोग गरिएको ‘चरणदास चोर’ सामाजिक विषयवस्तुमा आधारित नाटक हो। कथामा चोर भए पनि सधैँ सत्य बोल्ने वाचा गरेको पात्र चरणदासको जीवनमार्फत समाजभित्र रहेको भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। नाटकले मनोरञ्जनसँगै दर्शकलाई समाजका मूल्य, सत्य र नैतिकताबारे सोच्न प्रेरित गर्ने सन्देश बोकेको छ।
नाटकमा विश्वविजय विश्वकर्मा, विनय पन्त, बिनिता गिरी, अनुस्का कार्की, लक्ष्मण खत्री, जितन राई, पार्वता भुसाल, दुर्गा पौडेल, सरिता नेपाली, टेकबहादुर खाती, रिजन थिङ लामा, प्रबल जोशी, अर्मन शाही, मणिराज घलेलगायत कलाकारहरूको अभिनय रहेको छ।
नाटकमा महारानीको भूमिकामा रहेकी कलाकार बिनिता गिरीका अनुसार, “नाटकले दर्शकलाई हाँस्ने र रमाउने मात्र होइन, आफ्नै जीवन र समाजतर्फ फर्केर सोच्न प्रेरित गर्ने उद्देश्य राखेको छ,” उनले भनिन्।









0 comments:
Post a Comment