काठमाण्डौ । साउन २३ गते शुक्रबारबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘मोहर’ अहिले प्रचारप्रसारको चरम चरणमा पुगेको छ । यसै सन्दर्भमा यो चलचित्रका मुख्य अभिनेता पल शाह देश दौडाहा गरिरहेका छन् ।‘फिल्म मेकर्स प्रा.लि.’को ब्यानरमा निर्माण भएको चलचित्र ‘मोहर’को कथा लेखन र निर्देशन ओम प्रतिकले गरेका हुन् भने निर्माण चुम्बन जंग शाहीले गरेका हुन् ।
हालै चितवन पुगेका अभिनेता शाहले त्यहाँका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाए । चितवनको पर्सामा आयोजित एक कार्यक्रममा उनले दर्शकहरुसँग प्रत्यक्ष संवाद गरे भने म्याङ्गो हलमा दर्शकहरूसँग चलचित्रको गीतमा नाचेका दृश्यले माहोल झनै रोचक बनायो । शाहसँगै गायक थानेश्वर गौतमले पनि दर्शकहरूसँग संवाद गर्दै ‘मोहर’ हेर्न आह्वान गरे । कार्यक्रममा उपस्थित दर्शकहरूले ट्रेलर र गीतले आफूहरूमा उत्साह थपेको प्रतिक्रिया दिए ।चितवनको कार्यक्रममा अभिनेता शाहले दर्शकहरूसँग बसेर ‘मोहर’को सफलताको प्रतीकस्वरूप केक समेत काटे ।
चलचित्रमा पल शाहसँगै बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । देउकी प्रथाको कथामा आधारित ‘मोहर’ले नेपाली समाजको संवेदनशील पाटोलाई उजागर गर्ने प्रयास गरेको छ ।
चलचित्र सेन्सर बोर्डले यस चलचित्रलाई ‘प्यारेन्टल गाइडेड’ अर्थात ‘पीजी’ सर्टिफिकेट दिएको छ । यसको अर्थ, १६ वर्षमुनिका बालबालिकाले चलचित्र हेर्न अभिभावकको साथ अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ ।ट्रेलर, गीत र अन्य प्रचार सामाग्रीमार्फत दर्शकमाझ राम्रो प्रभाव पार्न सफल भएको ‘मोहर’ले बक्स अफिसमा पनि उत्साहजनक सुरुवात गर्ने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ ।








0 comments:
Post a Comment