यो मन त मेरो नेपाली हो


शिवशंकर रिजालको गाईजात्रे कोसेली ‘मिसन नौटंकी’ सार्वजनिक


काठमाडौँ । लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले हरेक वर्षझैँ यसपटक पनि गाईजात्रालाई लक्षित गर्दै हास्यव्यङ्ग्य प्रस्तुति ‘मिसन नौटंकी’ ल्याएका छन्। देशका राजनीतिक नेतृत्वको द्वैध चरित्र, भ्रष्टाचार र सामाजिक विकृतिमाथि तीखा व्यङ्ग्य गर्दै तयार पारिएको यो कोसेली ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।


रिजालले यसपटक राजनीतिक वृत्तमा चर्चित बनेको ‘मिस चौरासी’लाई पनि व्यङ्ग्यको माध्यम बनाउँदै, नेताहरूको लम्पटपन र चरित्रहीनतामाथि प्रहार गरेका छन्। ‘मिसन नौटंकी’मा उनले व्यङ्ग्य मार्फत दर्शक तथा श्रोतालाई हँसाउँदै सोच्न बाध्य पार्ने उद्देश्य राखिएको बताउँछन्।


रिजालले आफ्नो प्रस्तुतीमा चर्चित नेपाली फिल्म ‘जात्रा’को लोकप्रिय गीत ‘लाईदेउ माया पिरिम’मा प्यारोडी तयार पारेका छन्। जसमा रवि लामिछानेको जेल प्रकरणदेखि नेताहरूको भ्रष्टाचार, राजनीतिक लुटतन्त्र र सामाजिक बेथितिहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।


बि.सं. २०६१ देखि लगातार गाईजात्रे कोसेली ल्याउँदै आएका रिजालको यो २२ औं प्रस्तुति हो। गत वर्ष उनले ‘लुछाचुडी’ शीर्षकमा गाईजात्रे व्यङ्ग्य सामाग्री ल्याएका थिए।


‘मिसन नौटंकी’मा शिवशंकर रिजालसँगै राधिका हमाल, प्रेम शर्मा पौडेल, सबित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणी अधिकारी, बलराम धमला ‘ठूले दाइ’, सबिना बिक, भिम परियार, शिवराम कार्की र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय रहेको छ। यो कोसेलीको लेखन, निर्देशन र प्रस्तुति स्वयं रिजालले गरेका हुन्।


गाईजात्रालाई हास्य कलाकारका लागि महान उत्सवको रुपमा लिने रिजालले यस वर्षको ‘गाईजात्रे झटारो’ दर्शकमाझ ल्याएको बताउँदै भने, “सधैँझैँ यसपटक पनि दर्शकश्रोताले मेरो कोसेलीलाई माया दिनुहुनेमा विश्वास लिएको छु।”


हाल रिजाल राष्ट्रिय नाचघरले आयोजना गर्ने गाईजात्रे विशेष कार्यक्रममा प्रस्तुतिका लागि तयारीमा जुटिरहेका छन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add