रिदम सिंह
बझाङ । ‘साइपाल मिसन’ नाम दिएर विश्वका ख्यातिप्राप्त पर्वत आरोहीकाे टाेलीसहित बझाङका ४ चेलीहरु साईपाल हिमाल चढ्ने योजना बनाएर त्यसतर्फ गए पनि यसपालीको मिसन सफल भएको छैन ।
मिसन साइपालको टोलीले हिमाल आरोहणका साथै बझाङ जिल्लाको लोक-संस्कृति, रहन-सहन, भेषभुषासहितको फिल्म र्निमाण गरी अन्तर्राष्ट्रिय रुपमा प्रचार-प्रसार गर्ने लक्ष्य लिएका थिए । तर प्रतिकूल मौसमका कारण साइपाल हिमालमा सम्मिट गर्न नसकिएको हिमाल अाराेहणबाट फर्केकाे टोलीले जानकारी दियाे ।
‘मिसन साईपाल’ फिल्मका निर्माता भोजराज भाटले सुदूरपश्चिमको लोक-संकृतिसहित बझाङ जिल्लाको आर्थिक, सामाजिक, धार्मिक पर्यटकीय महत्व उजागर गर्न स्थानीय भेषभुसासहित चेलीहरुलाई हिमाल चढाउने याेजना रहेकाे तर हिमालको चुचुराेमा भने पुग्न नसकिएको बताए ।
हिमाल अाराेहणबाट फर्केपछि सदरमुकाममा भेट भएका उनले भने, ‘फिल्म निर्माणका लागि हाम्रो सबै काम भएको छ तर विदेशीहरुको साईपाल हिमालको चुचुरोमा पुगेर झण्डा फहराउने उद्देश्य भने मौसममा अाएकाे खराबीका कारण पूरा हुन सकेन ।’
साईपाल हिमालको उचाइ ७ हजार ३१ मिटर भएको तर शेर्पा र विदेशीहरुको टोली अमला गाड (नदी) दक्षिणी मोहडाबट ६ हजार ७ सय मिटरसम्म आरोहण गरेर फिर्ता भएको उनले बताए ।
विश्व रेकर्डधारी किन भए असफल ?
संसारभर रहेका ८ हजार मिटरभन्दा बढी उचाइका सबै १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरिसकेका गिनिजबुुक रेकर्डधारी स्पेनिश नागरिक डा. जर्ज इगोचेएगा (डाक्टर होर्के ) र आठ हजार मिटरभन्दा माथिका सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुुर्ने पासावन लगायतका १२ जना विदेशी आरोहीको टोली साइपालकाे चुचुराेमा पुग्न सकेन ।
यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छिन् । टोलीले दोस्रोपटक हिमाल चढ्ने प्रयास समेत असफल भएपछि यो हिमाल विश्वकै जोखिम बढी भएको हिमालअन्तर्गत पर्ने आरोहण दलको अनुभव छ ।
टोलीमा विश्वप्रसिद्ध आरोही स्पेनी नागरिक होर्केको नेतृत्व रहेको थियो । उनकाे टाेलीमा ८ हजार भन्दा माथिका हिमाल आरोहण गर्ने अन्य विदेशी व्यक्तिहरु पनि रहेका थिए ।
विदेशीहरु लिएर आएका शर्पा हिमालय बान्डर प्रालिका मिङ्मा जेलु शेर्पाले साईपाल हिमालको दक्षिणी मोहडाबाट भिरालो बढी भएकाले जान असहज भएको बताए ।
उनले भने, ‘हाम्रो टोलीमा सगरमाथालगायत विश्वका अग्ला हिमाल आरोहणमा सफल भएका गेष्टहरु र हामी पनि थियौँ तर साईपाल हिमालको चुचुराेमा यात्रा सम्मिट भएन । अर्को मोहडाबाट यात्रा गर्नेगरी फेरि आउने योजना बनाएका छाैँ ।’
सगरमाथाकाे सफल अाराेहण गरिसकेका ४ जना शर्पाहरुले पनि धेरै प्रयास गरेको बताए । बझाङी चारजना चेलीहरुले पनि ५ हजार उचाइसम्म मात्र यात्रा गरेको बताए ।
फिल्म संसारकै उत्कृट : निर्माता
साईपाल हिमालको चुचुरोमा यात्रा सफल नभए पनि साईपाल मिसनको फिल्मका लागि सबै आवश्यक ईभेन्टहरु भने पूरा भएकाले यो मिसनको फिल्म संसारकै उत्कृट हुने निर्माता भोजराजको दाबी छ ।
विदेशी नागरिकका साथै अनुभवी शेर्पाहरु र अन्य क्यामरामेनलगायत हिमाल चढ्ने स्थानीय चार चेलीसमेत गरी ८० जनाकाे टाेली साइपाल हिमालको बेस क्याम्पमा २७ दिन बसेर फिर्ता भएको हो ।
मुगु बाट छायाड्कन गरिएको सुनाकली फिलमका निर्माता समेत रहेका भोजराज भाटले साईपाल मिसन फिल्मले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताएका छन् ।
भरियाले ज्याला पाएनन्
तर साईपाल हिमालबाट फर्केपछि भने फिल्म र्निमाता भोजराज भाटले तल्कोटदेखि साईपाल हिमालकाे बेस क्याम्पसम्म भारी लिएर गएका ५७ जना भरियाहरुको झण्डै १७ लाख जति ज्याला नदिएकाे गुनासाे अाएकाे छ । भारी बोकेको ज्यालासहित अन्य खानपिनमा समेत रकम नदिएको भन्दै उनीहरुले प्रहरीमा उजुरी गरेका छन् ।
निर्माता भोजराजले अहिले पैसा नभएकोले १ महिनाभित्र भरियाको पैसा दिन्छु भनेर बझाङबाट सबैको रोहबरमा तम्सुक बनाएर गएका छन् ।







0 comments:
Post a Comment