यो मन त मेरो नेपाली हो


नेपाली चलचित्रमा पहिलो पटक सुटिङ सेटमै “नाट्यश्वरी”को पूजा – यस्तो बन्दैछ नीर शाहको “कमला मिस”

भोला सुवेदी

काठमाडौं, फागुन ०६ – एक दशकपछि निर्देशनमा पुनः फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहद्वारा निर्देशित चलचित्र ‘कमला मिस’को यतिबेला राजधानीमा धमाधम छायांकन भइरहेको छ।


गत फागुन १ गतेदेखि ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा छायांकन सुरु गरिएको यस चलचित्रको बुधबार छायांकन सेटमै विजय मल्ल स्मृति प्रतिष्ठान तथा मल्ल परिवार र चलचित्र ‘कमला मिस’ युनिटले नाट्यश्वरीको पूजा गरी चलचित्रको सफलताको कामना गरेका छन्। करिब तीन घन्टा लामो पूजामा नाट्यश्वरीको स्तुति पनि गरिएको थियो।






नेपाली चलचित्र क्षेत्रमा विधिवत रूपमा नाट्यश्वरीको पूजा गरेर चलचित्र निर्माण गरिएको यो पहिलो पटक हो। धार्मिक गुरु तथा तलेजु भगवानका पुजारी गुबाजु राजेन्द्रकुमार कर्माचार्यले चलचित्रको सफल छायांकन, विघ्नहर्ताको कृपा तथा नाट्यश्वरीको आशीर्वाद सधैँ रहिरहोस् भन्ने कामनासहित पूजा सम्पन्न गर्नुभएको कार्यकारी निर्माता चैतन्य प्रधानले बताउनुभयो।

छायांकनको छैटौँ दिनसम्म आइपुग्दा चलचित्रको काम निकै राम्रो भइरहेको निर्देशक तथा वरिष्ठ कलाकार नीर शाहले बताउनुभयो। करिब ३० दिनको छायांकन समय तोकिएको यस चलचित्र मनोवैज्ञानिक विषयवस्तुमा आधारित छ। चलचित्रमा मुख्य कलाकारका रूपमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, रमेश बुढाथोकी र जयन्त रेग्मी रहेका छन्।

विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रले राम्रो कथा र सन्देश दिने कुरामा निर्माण पक्ष ढुक्क छ। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेको यस चलचित्रमा लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भोला सुवेदीको निर्माण व्यवस्थापन रहेको छ। पटकथा तथा संवाद नीर शाह, प्रजाल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार गरेका छन्।

नीर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनय, फिल्म निर्माण र निर्देशनमा सक्रिय रहँदै आएका छन्। उहाँले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता सफल चलचित्र निर्देशन गरिसक्नुभएको छ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add