अमेरिकाको क्यालिफोर्नियाकी एकजना महिला डाक्टरले स्थानीय थाइ रेष्टुरेन्टमाथि मुद्दा दायर गरेकी छन् । कूप डी थाई रेष्टुरेन्टले अत्यधिक पिरो तथा मसालेदार खानेकुरा दिएका कारणले गर्दा आफ्नो गला बिग्रिएर बोली नै बन्द भएको भन्दै स्यान होजे शहरकी न्युरोलोजिस्ट डा । हरजसलीन वालियाले उक्त रेष्टुरेन्टविरुद्ध मुद्दा हालेकी हुन् ।
समाचारका अनुसार सन् २०२३ मा उनले सो रेष्टुरेन्टमा गएर ‘ड्रागन बल्स’ नामक खानेकुरा अर्डर गरेकी थिइन् । उनले त्यसबेला वेट्रेसलाई खानेकुरामा मसला कम गर्न अनुरोध गरेकी थिइन् र ती वेट्रेसले उनको कुरामा सहमति जनाएकी थिइन् ।
तर उनले पिरो र मसला कम गर्न भनेपनि रेष्टुरेन्टले उनको अनुरोधलाई नजरअन्दाज गरेछ । त्यसैले पहिलो गाँस खाँदा नै पिरोका कारण उनको मुख, जिब्रो र घाँटीमा जलन हुन थाल्यो । नाकभित्र पनि जलन भयो अनि आँखाबाट आँसु र नाकबाट पानी बग्यो । उनी लगातार खोक्न थालिन् ।
वालियाका अनुसार, अत्यधिक पिरोले उनलाई रासायनिक जलन भयो । उनको स्वरयन्त्र, अन्ननली र नाकमा समेत स्थायी क्षति पुगेको छ । उनको आवाज गुमेको छ र बोल्न निकै गाह्रो हुन्छ ।
पहिलो गाँस खाँदा नै मुखमा निकै जलन भएपछि उनले रेष्टुरेन्टका कर्मचारीसँग दूध वा आइसक्रिम मागेकी थिइन् । तर रेष्टुरेन्टले उनलाई राहत दिन केही पनि उपलब्ध गराएन । उनले पछि नरिवल पानी र पानी पनि पिइन्, तर पनि जलन कम भएन ।
उनले दायर गरेको अभियोगमा त्यस्तो पिरो खाना सामान्य मानिसका लागि उपयुक्त नभएको र रेष्टुरेन्टले स्वास्थ्य अधिकारी वा आपतकालीन सेवासँग परामर्श नगरको बताइन् ।
उता रेष्टुरेन्टले भने आरोप अस्वीकार गरेको छ । रेष्टुरेन्टका प्रतिनिधिका अनुसार मीटबल्सभित्र खुर्सानी मिसिएका कारण पिरो र मसला घटाउन सम्भव थिएन । हालसम्म अरु कसैले पनि असह्य पिरो भयो भनेर गुनासो नगरेको पनि उनले दाबी गरेका छन् । एजेन्सी








0 comments:
Post a Comment