काठमाडौँ। क्लाइमेक्स आर्ट प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको नयाँ गुरुङ भाषाको चलचित्र ‘तेनो कुर्सि (ढोग भेट)’ को छायाङ्कन अहिले लमजुङ जिल्लाको सुन्दर गाउँ ओखारीमा तीव्र गतिमा अगाडि बढिरहेको छ। गुरुङ समुदायको मौलिक जीवनशैली, परम्परा र सांस्कृतिक मूल्यमान्यतालाई पर्दामा उतार्ने उद्देश्यले यो चलचित्र निर्माण भइरहेको हो। चलचित्रमा पर्वत गुरुङ, खुशी गुरुङ, बबिता गुरुङ, राजेश गुरुङ, भीम गुरुङ, टिकराम गुरुङ, ओम गुरुङ, एलिसा गुरुङ र पूजा गुरुङ लगायत चर्चित कलाकारहरूले अभिनय गरिरहेका छन्।
निर्माण टोलीका अनुसार तेनो कुर्सि (ढोग भेट) ले गुरुङ समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सन्देश दिनेछ। साथै, यो चलचित्रले नयाँ पुस्तालाई आफ्नो जातीय पहिचानप्रति गर्व महसुस गराउन प्रेरित गर्ने अपेक्षा गरिएको छ। चलचित्रको छायाङ्कन कार्य अन्तिम चरणमा पुग्न लागेको र चाँडै दर्शकमाझ ल्याउने तयारी भइरहेको जानकारी निर्माण पक्षले दिएको छ।
हङकङ निवासी निर्देशक सुवास गुरुङले विभिन्न गुरुङ भाषाका गीतहरूमा स्वर र संगीत पनि दिएका छन्। साथै, उनी गुरुङ भाषाका चलचित्रकर्मीहरूको साझा संस्था गुरुङफिल्म एसोसिएसन नेपाल का संस्थापक उपाध्यक्ष समेत हुन्। आफ्नो भाषा, संस्कृति र मौलिकताको संरक्षणमा लामो समयदेखि समर्पित गुरुङ यसपटक पनि सशक्त प्रस्तुतीसहित दर्शकसामु आउने तयारीमा छन्।









0 comments:
Post a Comment