विश्वराज तामाङ
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षिय बालिका एल्जिना खड्काको बलात्कार गरी हत्यामा संलग्न दुईजनालाई प्रहरीले बिहिबार सार्बजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको ६ दिनपछि पत्रकार सम्मेलनको आयोजना गर्दै घटनामा संलग्न व्यक्तिहरुसहित घटनाको बारेमा सार्वजनिक गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार घटनाको अनुसन्धान तथा लासको पोष्र्टमार्टमबाट बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ । जघन्य घटना घटाउने गाउँकै १५ वर्षिय र १८ वर्षिय किशोर रहेको प्रहरीले जनाएको छ ।
बलात्कार हत्यामा संलग्न रहेकाहरु बालक रहेकाले प्रहरीले नाम भने सार्बजनिक गरेको छैन । हत्यामा संलग्न दुईमध्ये एकजना गाउँकै विद्यालयमा संगै पढ्ने साथी हुन् । अनुसन्धानबाट उनीहरुकै संलग्नता एकिन भएको र मृतकका बुवाले दुबैको नाममा किटानी जाहेरी दिएकाले उनीहरुलाई हिरासतमा राखी कानूनी कारवाहीका लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गत कात्तिक २४ गते शनिबार घरनजिकैको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बलात्कार हत्या भएको थियो ।
शनिबार साँझसम्म एल्जिना नफर्केपछि परिवार र गाउँलेले रातभर खोजी गरेका थिए । तरपनि फेला नपरेपछि भोलीपल्ट विहानैदेखि गाउँभरीकाले खोजी गर्दा दिउसोतिर जंगलको घारीमा मृतअवस्थामा उनको शब फेला परेको थियो ।स्थानीयको खबर पाएपछि जिल्ला प्रहरीबाट डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा गएको प्रहरीटोलीले व्यापक अनुसन्धानका साथ घटनास्थल सुरक्षित घेरामा राखेर भोलीपल्ट सोमबार प्रकृति मुचुल्का उठाएको थियो । सोमबार प्रदेश प्रहरी धरानबाट झिकाइएको तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान भएको थियो ।
अनुसन्धानका साथ प्रकृति मुचुल्का उठाएको प्रहरीले मृतकको लाससहित संकास्पद पाँचजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरीमा ल्याएको थियो । सोही रात थप एकजनालाई नियन्त्रणमा लिई नियन्त्रणमा रहेको ६ जनासंग बयान तथा सोधपुछ गरेको थियो ।बयान, सोधपुछ तथा अनुसन्धानबाट चारजना निर्दोष देखिएपछि छाडेको थियो भने दुईजना घटनामा संलग्न रहेको पुष्टिका साथ कारवाही अगाडी बढाएको हो । मृतकको शब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमको रिपोर्ट बुधबार जिल्ला प्रहरी उदयपुरमा आइपुगेको थियो ।
सबैखाले प्रमाणहरु जुटेपछि जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी घटना र घटनामा संलग्न व्यक्तीहरु सार्बजनिक गरेको थियो । देशैभर बढ्दो बालिका बलात्कार हत्या घटनालाई मध्ये नजर गर्दै संवेदनशीलताका साथ तिब्र र गहिरो अनुसन्धानबाट घटनाका दोषी छिटै पक्राउ गर्न सकिएको जिल्ला प्रहरी प्रमुख एसपी राईले बताए । उनले अभिभावकहरुलाई यस्ता घटनाप्रति सचेत रहन र छोरीचेलीहरुलाई असुरक्षित ढंगले हिडडुल गर्न र रहन नदिन आग्रह गरेका छन् । मृतकको परिवारले दोषीलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)







0 comments:
Post a Comment